धरान । सुनसरीको देवानगञ्ज घटनापछि मधेश प्रदेशका विभिन्न जिल्लामा सुरक्षा चुनौती बढ्दै जाँदा सिरहा र धनुषामा कर्फ्यू आदेश जारी गरिएको छ। सिरहामा कर्फ्यूका बाबजुद प्रदर्शन जारी रहेपछि नेपाली सेना ब्यारेकबाट निस्केर परिचालन गरिएको छ भने जनकपुरमा स्थिति नियन्त्रणबाहिर जाने जोखिम देखिएपछि प्रशासनले अनिश्चितकालीन कर्फ्यू लागू गरेको छ।

सिरहाको लहान र गोलबजार क्षेत्रमा प्रदर्शनकारी र सुरक्षा निकायबीच दिनभर झडप भएको छ। प्रदर्शनकारीले कर्फ्यू उल्लंघन गर्दै सडकमा उत्रिएपछि प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गर्नुका साथै स्थिति नियन्त्रणमा लिन चेतावनीस्वरूप हवाई फायरसमेत गरेको छ। तनाव बढ्दै गएपछि नेपाली सेना ब्यारेकबाट निस्केर संवेदनशील क्षेत्रमा परिचालन गरिएको सुरक्षा स्रोतले जनाएको छ।

देवानगञ्ज घटनापछि धार्मिक तथा साम्प्रदायिक तनाव फैलिन सक्ने आकलन गर्दै स्थानीय प्रशासनले मधेशका विभिन्न जिल्लामा सुरक्षा व्यवस्था कडा बनाएको छ।

यता धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार दिउँसो साढे ३ बजेदेखि लागू हुने गरी जनकपुरका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेका छन्।

कर्फ्यूको क्षेत्र उत्तरतर्फ लक्ष्मीनियाँ गाउँपालिका–७ को हाटबजार चोकदेखि सिनुरजोडा चोकसम्म, पूर्वतर्फ बेलौनी रोड–एक क्यू स्टिलबाट ५०० मिटर पूर्व पेट्रोल पम्प हुँदै राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणतर्फ नगराइन नगरपालिका–नगराइन चोकसम्म तथा पश्चिमतर्फ सिनुरजोडा–सोहनी, मनिमण्डप, नेपाल नर्सरी, इस्कोन जनकपुर, दुधमती पुल, बेला र कादरी मस्जिद क्षेत्रसम्म तोकिएको छ।

प्रशासनले कर्फ्यू अवधिभर अत्यावश्यक सेवाबाहेक कुनै पनि व्यक्ति, सवारीसाधन वा समूहलाई तोकिएको क्षेत्रमा आवतजावत नगर्न निर्देशन दिएको छ। साथै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको जनाउँदै सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, संयमता अपनाउन र प्रशासनलाई सहयोग गर्न आग्रह गरिएको छ।