विराटनगर । गुरुप्रसाद मैनालीको चर्चित कथामा आधारित नाटक ‘कर्तव्य’ विराटनगरस्थित आरोहण गुरुकुलमा विहीबारदेखि मञ्चन भइरहेको छ । आज दोश्रो दिन गुरुकुल विद्यार्थीहरुको भीडभाड थियो ।
मैनालीद्वारा लिखित कथालाई नाट्यकार भरत बर्बरिकले नाट्य रूपान्तरण गर्नु भएको छ । नाटकको निर्देशन सुदीपजंग कार्कीले गर्नु भएको छ । भदौ २५ देखि असोज १५ गतेसम्म नियमित रूपमा नाटक मञ्चन हुने आयोजकले जनाएको छ ।
‘कर्तव्य’मा भरत बर्बरिक, सुदीपजंग कार्की, अर्पित नेपाल, सन्तोष बाँस्तोला, समिना श्रेष्ठ, संजय मुडियारी, सुशील कर्ण, प्रदीप परियार, मञ्जुल अधिकारी, एन्जिला भट्टराई, जीवन गुरुङ, प्राञ्जिला घिमिरे र जीविका कार्कीलगायतको जिवन्त अभिनय रहेको छ ।
प्रत्येक दिन ३ वटा शो चलिरहेको कलाकार सविना श्रेष्ठले जानकारी दिनु भयो ।
नाटकको मञ्च परिकल्पना सञ्जय मुडियारीले गर्नु भएको भने मञ्च निर्माण प्रदीप सरकारको रहेको छ । प्रकाश तथा ध्वनि परिचालन सुशील कार्की, सह–निर्देशन अर्पित नेपाल र निर्देशन सुदीपजंग कार्कीको रहेको छ ।
मैनालीको साहित्यिक कृतिमा आधारित ‘कर्तव्य’ले मानवीय सम्बन्ध, जिम्मेवारी र सामाजिक परिवेशलाई नाटकीय रूपमा प्रस्तुत गरेको छ । आरोहण गुरुकुलमा भइरहेको नियमित मञ्चनले विराटनगरमा रंगमञ्चप्रतिको आकर्षणलाई पुनः बढाउने अपेक्षा गरिएको छ ।



















