चुलाचुली (इलाम) । किराँत मुन्धुमी दर्शन, भाषा, धर्म र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले इलामको चुलाचुलीमा मुन्धुम पाठशाला उद्घाटन गरिएको छ। मुन्धुमविद् तथा किराँत सत्यहाङमा धर्मका संरक्षक गुरु लाफयङ (देवबहादुर तुम्बापो) को ८३औँ जन्मजयन्तीको अवसरमा मुन्धुम पाठशाला उद्घाटनसँगै सानो गुरु बद्रीनन्दको सालिक अनावरण गरिएको हो।
जन्मजयन्तीका अवसरमा विश्व शान्तिको कामनासहित ‘माङ्गेना चोत्लुङ’ अर्थात् सृष्टि शान्ति तथा शिर उठाउने धार्मिक अनुष्ठानसमेत सम्पन्न भएको छ। धार्मिक, सांस्कृतिक तथा शैक्षिक महत्त्व बोकेको समारोहमा हजारौँ भक्तजन, विद्यार्थी, शिक्षक तथा स्थानीयवासी सहभागी भएका थिए।
फाल्गुनन्द नोमाङ्गेना सेवा सङ्घ, माङ्गेना माङ्हिम तथा बहुभाषिक पाठशालाका संस्थापक अध्यक्ष डम्बरकुमार तुम्बापोको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा कोसी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेप प्रमुख अतिथि हुनुहुन्थ्यो।
कार्यक्रममा मन्त्री लिङ्थेपले मौलिक धर्म, संस्कृति, भाषा र शैक्षिक अभियानको संरक्षणमा प्रदेश तथा स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो। विगतदेखि नै यस्ता अभियानलाई सहयोग गर्दै आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।
सभाध्यक्ष तुम्बापोले मुन्धुम पाठशाला र बहुभाषिक पाठशालाको दीर्घकालीन सञ्चालनका लागि स्थानीय सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। पाठशालालाई आवश्यक विद्यार्थी, शिक्षक तथा भौतिक पूर्वाधारको व्यवस्थापनमा गाउँपालिकाले विशेष जिम्मेवारी लिनुपर्ने उहाँको भनाइ थियो।
मुन्धुम पाठशाला स्थापनाका लागि निःस्वार्थ रूपमा जग्गा उपलब्ध गराउने जग्गादाताहरूलाई मन्त्री लिङ्थेपले दोसल्ला ओढाएर सम्मान गर्नुभयो। पाठशाला निर्माण तथा सञ्चालनमा आर्थिक सहयोग गर्ने दाताहरूलाई कदरपत्रसमेत प्रदान गरिएको थियो।
कार्यक्रममा राष्ट्रिय कलाकार तथा अभियन्ता धिरज राईलाई ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ अभियानमार्फत पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो। सम्मानपछि राईले चुलाचुलीमा भइरहेको मौलिक धर्म, संस्कृति र सामाजिक पहिचान संरक्षणको अभियान प्रशंसनीय रहेको बताउनुभयो।
कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा भक्तजनले धार्मिक र सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए। राष्ट्रिय कलाकार धिरज राई र गायक विकास तुम्बापोको सांगीतिक प्रस्तुतिले समारोहलाई थप आकर्षक बनाएको थियो।
समारोहमा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ, उपाध्यक्ष दिलकुमारी लाओती योङहाङ, किराँत सत्यहाङमा सेवा सङ्घका केन्द्रीय अध्यक्ष तथा मूर्तिकार एवं साहित्यकार ज्ञानोदय लाओती, त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्रोफेसर तथा नवोदय उच्च मावि र युएन कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक ज्ञानेश्वर झा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
त्यस्तै, किराँत सत्यहाङमा सेवा सावा पाङ्जुमोका केन्द्रीय अध्यक्ष मणिकुमार इदिङ्गो, प्रहरी चौकी पेल्टिमारीका प्रमुख जीवनकुमार कार्की, विभिन्न वडाका वडाध्यक्ष, धार्मिक तथा सामाजिक अगुवाहरूको उपस्थिति थियो।
यसैबीच, फक्ताङलुङ यात्रा समितिका कोषाध्यक्ष टेकराज निङ्लेखु र सचिव सङ्गीता थलङले यात्राको आयव्ययसहितको आर्थिक प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो।
गुरु लाफयङको जन्मजयन्तीका अवसरमा चुलाचुली गाउँपालिकाले पालिकाभर स्थानीय बिदासमेत दिएको थियो। स्थानीय बिदाका कारण विद्यालयका विद्यार्थी, शिक्षक, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
मुन्धुम पाठशालाको स्थापना र सानो गुरु बद्रीनन्दको सालिक अनावरणले किराँत मुन्धुमी दर्शन, धार्मिक इतिहास, भाषा र संस्कृतिको संरक्षणमा योगदान पुग्ने आयोजकको विश्वास छ। यसले नयाँ पुस्तालाई आफ्नो मौलिक ज्ञान र पहिचानसँग जोड्नुका साथै चुलाचुलीको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।





















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!