धरान ।  सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलिदेखि कोसी प्रदेशबाट सुरु हुँने भएको छ । नेपाली सेनाका सहायकरथी एवं सैनिक प्रवक्ता राजेन्द्र श्रेष्ठका अनुसार यस वर्षको सम्मेलनको मूल भाव ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण–पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ रहेकोे छ । 

यस पटक यही मङ्सिर १४ देखि २५ गतेसम्म कोसी र बागमती प्रदेशका २४ जिल्लाका भूपूसैनिकलाई समेट्ने गरी २० स्थानमा हुने सम्मेलनमा करिब ५५ हजार भूपूसैनिकको  सहभागिता रहने बताइएको छ ।  

पहिलो चरणमा यस वर्ष पूर्वी पृतनाअन्तर्गत सुनसरी, मोरङ, धनकुटा, भोजपुर, सङ्खुवासभा, तेह्रथुम, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, उदयपुर, खोटाङ र सोलुखुम्बुमा सम्मेलन हुनेछ ।  मध्य पृतनाअन्तर्गत चितवन, मकवानपुर, धादिङ, नुवाकोट र रसुवा तथा उपत्यका काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक गरी कुल २४ जिल्लाका २० स्थानमा यही मङ्सिर १४ देखि २५ गतेसम्म आयोजना हुनेछ ।

हरेक प्रधान सेनापतिको कार्यकालमा प्रत्येक प्रदेशमा एकपटक आयोजना गरिने सम्मेलनलाई वैज्ञानिक र व्यवस्थित बनाउन तीन चरणमा विभाजन गरी गरिँदै आएको छ । पृतनाको मुख्यालयमा हुने सम्मेलनलाई प्रधान सेनापति अशोकराज सिग्देलले सम्बोधन गर्नुहुने छ ।