धरान । धरान उपमहानगरपालिका वडा नम्बर १५ का वडा जनप्रतिनिधी र टोल विकास समितिका पदाधिकारीसहित उपभोक्तालगायतको प्रतिनिधीले आज दुषित खोलाको खानेपानीको मुहान वन्द गर्नका माग गर्दै धरानका मेयरलाई ध्यानाकर्षण पत्र वुझाएका छन् ।
सेउती खोला र भालु खोलाको खोल्सीबाट सिधै पानी उपभोक्ताको घरको धारामा ल्याएर वितरण गरिएको र उक्त पानी दुषित भएको भन्दै मेयर हर्कराज राई(साम्पाङ)लाई ध्यानाकर्षण पत्र वुझाएका हुन् । मेयरको कार्यकक्षमा पुगेर वडाध्यक्ष नरेश इवारमसहितका जनप्रतिनिधीहरु, टोल विकास समितीका पदाधिकारी, राजनीतिक पाटीका प्रतिनिधी र उपभोक्ताहरुको टोलीले ज्ञापन पत्र बुझाएको हाे ।
उक्त ध्यानार्षण पत्रमा खानेपानी २०७९ सालसम्म विजयपुर सव ट्यांकीबाट धरान १५ को वडाबासीलाई वितरण गर्दै आएको तर उक्त स्थानबाट पानी वितरण वन्द गरि सेउती र भालुखोलाको पानी ल्याएर उपभोक्तालाई वितरण गरेकाले उक्त खोलाको पानी वन्द गरि पुरानै सिस्टमबाट पानी वितरण गर्नको लागि माग गरिएको छ ।
पोलिथिनको पाइप मार्फत खोलाबाट सिधै पानी वितरण गरिएकाले खोलाबाट आउने पानी दुषित र मानव स्वास्थ्यमा असर गर्ने भनेर स्थानीयले गुनासाे गरे पछि जनप्रतिनिधीसहितको टोलीले अनगमन गरि सोमबार आम भेला मार्फत निर्णय गरेर आज मेयरलाई ध्यानाकर्षण पत्र वुझाइएको टोल विकास संस्थाका सचिव देउमान लिम्वूले वताउनु भएको छ ।
उहाँले ध्यानाकर्षण पत्र वुझाउँदै सुझाबसहितको माग पत्र वुझाइएको र तत्काल भालुखोला र सेउतीको खोलाकाे पानी वन्द गरेर विजयपुर सव सिस्टमद्धारा पानी वितरण गर्न माग गर्नु भएको छ । उहाँले भन्नु भयो,- ‘सेउती र भालुखोलाको पानी असुरक्षित छ, मानव स्वास्थ्यमा असर गर्दछ, हामीले अनुगमन गर्योैं, स्वास्थ्य जस्तो संवेदनसील कुरामा खेलबाड नगरियोस्, हाम्रो मागलाई संवोधन गर्न मेयर समक्ष जोडदार माग गर्दछौं।’
वडाध्यक्ष नरेश इवारमले गत मंसिर महिनामा खोलाकाे पानी सिधै पाइपमा नेक्कसन गरि उपभोक्तालाई वितरण गरिएको पानीको मुहानमा गएर अनुगमन गर्दा उक्त पानी खान याेग्य नपाइएकाे बताउनु भयाे । उपभोक्तालाई खानेपानीको कारण नै स्वास्थ्यमा असर गरिरहेका वताएकाे उहाँले बताउनु भयाे ।
उहाँले भन्नु भयो,‘ अहिले वर्षाको समय छ, लेदो पानी आउने त भइहाल्यो, त्यहादेखि उतर तर्फको छालाको फ्याक्ट्री, कुखुराको फार्म र सँगुरको फार्मबाट आउने फोहोर पनि त्यही खोलामा आएर मिसिने भएकाले वडावासीलाई उक्त खानेपानी असुद्ध, दुर्घन्धित र लेदोसहितको आउने गरेकाे पाइयाे ।’
छाला फ्याक्ट्री र अन्य फार्म स्थानान्तरण गराउने छु–मेयर

मेयर साम्पाङले ज्ञापन पत्र बुझ्दै वडावासीको समस्या र माग जायज भएको तर वाध्यातालाई वुझिदिनमा आग्रह गर्नु भएको छ । धरानको मुख्य समस्या नै खानेपानी हो , खानेपानीको राजनीतिबाट आफु पनि आएको भन्दै तत्काल मानवीय गतिविधीलाई रोक्नु पर्ने पहिलो आवश्यकता भएको मेयर राईले बताउनु भएको छ ।
उहाँले हामी आफैले नै खानेपानीको मुहानमा हुने गतिविधीलाई रोक्नु पर्ने वताउनु भएको छ । मेयर राईले भन्नु भयो, ‘तत्काललाई धरान उपमहानगरपालिकाको तर्फबाट उक्त क्षेत्रमा खानेपानीको मुहान फोहोर पार्ने गतिविधी रोक्न पहल हुने छ ,आजै त्यस क्षेत्रको छाला फ्याक्टी, कुखुरा फार्म र सुँगुर फार्म सचालकसँग कुरा गरेर त्यस स्थानबाट फ्याक्ट्री र र्फाम स्थानान्तरण गर्न लगाउने छु।’म आफैले पनि उक्त क्षेत्रमा गएर अनुगमन गरेको छु ।’
रास्वपाले गरेकाे पानीकाे परिक्षण मान्दैनाै, खानेपानीकाे उपमहानगर आफैंले टेष्ट गर्ने

मेयर साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीले धरानको पानी टेष्ट गरेको प्रति आफुलाई विश्वास नभएको बताउनु भएको छ । त्यसैले खानेपानी जस्तो संवेदनशील विषयमा गरिएको धरानको खानेपानीमा कोलीफर्म किटाणु पाइएको भन्ने कुरालाई विश्वास गर्ने आधार नभएको मेयर साम्पाङको दावी रहेको छ ।
उहाँले भन्नु भयो, ‘खानेपानी परीक्षण हामीलाई सोधेर पनि गरिएको होइन, सतहको पानीमा कोलीफर्म हुँदैन भनेर पनि भन्न सकिँदैन, तर पानी परीक्षण गरिएकोप्रति विश्वास गर्न पनि सकिँदैन, त्यसैले अव धरान उपमहानगरपालिकाले आधिकारिक रुपमा खानेपानीको परीक्षण आँफैं गर्ने छ । नगरवासीलाई आग्रह गर्न चाहन्छु की चाँडै वास्तविकता आउनेछ,ढुक्क हुनुहोस् ।’
मेयर राईले ध्यानाकर्षण पत्र वुझेपछि कुरा गर्दै धरानको खानेपानीमा कोलीफर्म भेटिएको भन्ने कुरा पानी उद्योगको व्यापारको राजनीति पनि हुन सक्ने संज्ञा दिनु भएको छ । धरानको खानेपानी दुषित भएको अफवाह फैलाएर दक्षिण तिरबाट आउने पानी उद्योगलाई फाइदा पुगेको हो की भन्ने पनि आफुलाई शंका लागेको वताउनु भएको छ ।
उहाँले भन्नु भयो,‘धरानको पानी दुषित नै भएको पनि हुन सक्छ , किन की भुमिगत पानी वाहेक सतहको पानी धरानमा मात्रै होइन जहाँ सुकै पनि कोलीफर्म किटाणु भेटिन्छ,त्यसैले कतिपय कुराहरु पानीको व्यापारसँग पनि जोडिन सक्छ,उद्योगकै फाइदाको कुरा पनि हुन सक्छ, दक्षिण तिरबाटै पानी टेष्ट गरिएको पनि हुन सक्छ,त्यसैले हामी आफैं पानी टेष्ट गरेर वास्तविकता वाहिर ल्याउने छौ।’





















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!