धरान / धरान उद्योग व्यवसाय फस्टाउन नसकेको र स्थानीय सरकारले अभिभावकत्व ग्रहण गर्न नसकेको व्यवसायीहरुले गुनासो गरेका छन् । 

कोशी करिडरका पहाडी जिल्लाका मुख्य नाका रहेको धरान विगतमा व्यापारीक केन्द्र भएको स्मरण गराउदैं विगतको साँख फर्काउन स्थानीय सरकारले व्यवसायी प्रवद्र्धनका लागि कार्यक्रम ल्याउनु पर्ने व्यवसायीहरुले बताएका छन् ।

सोमबार सुनसरीको रास ताल परिसरमा आयोजित वनभोज तथा छलफल कार्यक्रममा सहभागी धरानका उद्यागी व्यवसायीहरुले यस्तो बताएका हुन् । 

सुनसरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गिरीधारी सापकोटाको संयोजनमा आयोजित वनभोज कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभाका संस्थापक सभामुख प्रदिपकुमार भण्डारीले स्थानीय सरकारले केही गर्न नसके पनि उद्योगी व्यापारीहरुसँग छलफल गरेर कार्ययोजना बनाउन सुझाव दिनु भयाे। त्यसको नेतृत्व उपप्रमुखले गर्न आग्रह गर्नु भयाे । 

होटल व्यवसायीसमेत रहेका पूर्व नगर प्रमुख मनोजकुमार मेन्याङ्बोले उपमहानगरको नेतृत्व जिम्मेवार नहुदा समस्या भएको बताउनु भयाे । उहाँले धरानमा कर कार्यालयले व्यापारीमा आतंक फैलाएको आरोपसमेत लगाउनु भयाे । पूर्व प्रतिनीधि सभा सदस्य जयकुमार राईले कोभिड पछिको व्यापार अझै फस्टाउन नसकेको बताउदैं विगतको धरानको साँख फर्काउन राज्यको भूमिका हुनु पर्ने बताउनु भयाे । 

उपप्रमुख आइन्द्रविक्रम बेघाले आफुमा कार्यकारी अधिकार नभएकोमा चाहे अनुसारको काम नगर्न नसकिएको बताउनु भयाे । यद्यपी व्यवसायीहरुको हकहितका लागि आफु निरन्तर लागि रहेको उहाँकाे भनाई थियो । 

गिरीधारी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सुनसरी उद्योग बाािण्ज्य संघका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठ, पूर्व अध्यक्षहरु अशोक अग्रवाल, पवन अग्रवाल, कार्यसमिति सदस्यहरु नारायण लिम्बु, राजेस अग्रवाल, प्रदिप आचार्य, पूर्वक्षितिज प्रकाशन प्रालिका प्रवन्ध निर्देशक किशोरकुमार कार्कीलगायतका धरानका उद्योगी, व्यवसायीहरुको उपस्थिति रहेको थियो । छलफल पछि नाचगान, हाउजीलगायतका मनोरञ्जनात्मक कार्यक्रम भएका थिए ।