धरान / रानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवासँगै विश्वस्तरका महत्वपूर्ण अनुसन्धानहरू निरन्तर भइरहेको प्रतिष्ठानका शिक्षाध्यक्ष तथा विश्वको शीर्ष वैज्ञानिक सूचीमा परेका प्रा.डा. सञ्जिव शर्माले बताउनुभएको छ।
नेपाल यातायात मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको संयोजनमा आयोजित संवाद कार्यक्रममा प्रा.डा. शर्माले सर्पदंश, मुटुरोग, मृगौलारोग तथा कालाजार सम्बन्धी अनुसन्धानलाई अन्तर्राष्ट्रिय स्तरमा उच्च मूल्यांकन प्राप्त भएको जानकारी दिनुभयो।
उहाँका अनुसार स्ट्यानफोर्ड विश्वविद्यालयले एन्सेभियरसँगको सहकार्यमा तयार गरेको वार्षिक ‘ग्लोबल साइेन्टिफिक इन्फ्लुएन्स र्याङ्किङ’ सूचीमा नेपालका ३१ वैज्ञानिक परेका छन्, जसमा वीपी प्रतिष्ठानका प्रा.डा. शर्मा र प्रा.डा. सुमन रिजाल सूचीकृत हुनुभएको छ।
सर्पदंश, मुटु तथा मृगौलासम्बन्धी अनुसन्धानमा प्रा.डा. शर्माको नेतृत्व रहँदै आएको र कालाज्वारसम्बन्धी अध्ययन प्रा.डा. रिजालको टोलीले गरेकाे बताउनुभयो।
करिब २० वर्षदेखि सर्पदंश उपचार विधिको सुधार, मुटुरोग र मिर्गौलारोगका विषयमा आफू निरन्तर अध्ययन–अनुसन्धानरत रहेको उल्लेख गर्दै प्रा.डा. शर्माले प्राप्त उपलब्धि प्रतिष्ठान, अनुसन्धान टोली तथा धरान–पूर्वका जनताको निरन्तर सहयोग र विश्वासको प्रतिफल भएको बताउनुभयो।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का सर्पदंशसम्बन्धी कार्यक्रममा नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै आएका प्रा.डा. शर्माले विश्वका विभिन्न देशका वैज्ञानिकहरू नेपालमा आएर अनुसन्धान गर्न इच्छुक रहेकाले त्यसका लागि अनुकूल वातावरण तयार गर्न राज्य जिम्मेवार हुनुपर्ने सुझाव पनि दिनुभयो।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!