इमान, अध्ययन र युवाशक्तिको संयोजन
धरान । सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेको उम्मेदवार बन्नु भएका टिकाराम लिम्बू (माङ्लेन) धरानको समकालीन राजनीतिमा फरक पहिचान बनाउँदै आएको नाम हो । विद्यार्थी राजनीतिबाट खारिँदै आउनु भएका, अध्ययनशील र सादगी जीवनशैलीका माङ्लेनलाई एमालेले यसपटक युवा पुस्ताको प्रतिनिधिका रूपमा अघि सारेको छ । नेकपा एमालेका धरानमा अरु पाका नेताहरुलाई पन्छाएर उहाँले टिकट पाउनुमा भदौं २३ र २४ को जेन जी आन्दोलनको मागसँग पनि जोडिएर हेरिएको छ ।
४० वर्ष उमेर समुहका माङ्लेन इमानदार, कर्तव्यनिष्ठ र बौद्धिक व्यक्तित्वका रूपमा सुनसरीमा चिनिनु हुन्छ । उहाँ धरानमा देखिएको परम्परागत राजनीतिक शैलीभन्दा फरक, विचार र योजनामा आधारित राजनीतिका पक्षधर मानिनु हुन्छ । राजनीतिकशास्त्रमा स्नाकोत्तर र कानुनमा स्नातक गर्नु भएका माङ्लेन धरान–१० का स्थायीवासी हुनुहुन्छ ।
विद्यार्थी राजनीतिबाट संसदीय यात्रातर्फ
२०५६ सालमा ताप्लेजुङको सिनाम माध्यमिक विद्यालयबाट अनेरास्ववियु हुँदै विद्यार्थी राजनीतिमा प्रवेश गरेका माङ्लेनको राजनीतिक यात्रा इलाम, धरान हुँदै सुनसरी जिल्ला नेतृत्वसम्म आइपुगेको छ । महेन्द्र क्याम्पस धरानमा दुई कार्यकाल क्याम्पस कमिटी अध्यक्ष, अनेरास्ववियु सुनसरी जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्यको जिम्मेवारी निर्वाह गर्नुृ भएका उहाँ संगठन निर्माणमा परिचित अनुहार हो ।
प्रशासनिक अनुभव र स्थानीय शासनको बुझाइ
२०७४ सालमा धरान उपमहानगरपालिकाका तत्कालीन मेयर तारा सुब्बाको सचिवालयमा रहेर राजनीतिक सल्लाहकारको भूमिका निर्वाह गर्नु माङ्लेनको यात्राको महत्वपूर्ण मोड हो । स्थानीय सरकारको कामकाज नजिकबाट बुझ्ने अवसर पाउनु भएका उहाँले प्रशासनीक कामदेखि सुशासनका अभ्याससम्म प्रत्यक्ष अनुभव गर्नु भएको छ । यही अनुभवले उहाँलाई ‘संसदमा गएपछि नीति र कार्यान्वयन जोड्न सक्ने नेता’ को रूपमा चिनाउने आम मदतादाको बुझाई रहेको छ ।
पार्टी राजनीतिमा निरन्तरता
२०६४ सालदेखि नेकपा एमालेको संगठित सदस्य बनेका माङ्लेन धरान वडा सचिव, नगर कमिटी सदस्य, जिल्ला कमिटी सदस्य हुँदै हाल सुनसरी जिल्ला कमिटीमा दोश्रो कार्यकालको निर्वाचित सदस्य हुनुहुन्छ । लगातार दुई जिल्ला अधिवेशनबाट निर्वाचित हुनु उहाँले संगठनमा पाएको विश्वासको संकेत मानिन्छ ।
उहाँका चुनावी एजेण्डा

प्रतिस्पर्धा र फरक पहिचान
सुनसरी–१ मा हर्क साम्पाङ, मनोज भट्टराई, सरिन तामाङ र सुजेन्द्र तामाङलगायत जस्ता परिचित र ‘टेस्टेड’ नेताहरू प्रतिस्पर्धामा छन् । तर माङ्लेनलाई युवा जमातमा लोकप्रिय, अध्ययनशील र संवादमुखी नेताको रूपमा हेरिन्छ ।
उहाँको दाबी छ—‘धरान, बराहक्षेत्र र रामधुनीलाई नाराले होइन, योजनाले अघि बढाउनुपर्छ । ती पालिककाको समग्र विकासका लागि धार्मिक सर्किट आवश्यक छ । यो पुरा एमाले नेतृत्वको सरकारले गर्ने छ ।'
सुनसरीमा राजनीतिको यो मोडमा, अनुभव र युवाशक्तिको सन्तुलन खोजिरहेका मतदाताका लागि टिकाराम लिम्बू (माङ्लेन) एक वैकल्पिक अनुहारका रूपमा उभिनु भएको छ । फागुन २१ को निर्वाचनमा सुनसरी–१ का मददाताहरुका लागि उहाँ परीक्षाको घडीमा रहनु भएको छ ।




















