धरान । सुनसरीको कप्मातानगञ्जमा प्रहरीको गोली लागेर घाइते भएका थप उक जनाको जनाको मृत्यु भएको छ। यससँगै सुनसरीको कप्तानगञ्ज घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ भने सिरहाको झडपमा पनि एक जनाले ज्यान गुमाएका छन्।
सिरहामा झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिका–२ का अन्दाजी १५ वर्षीय गणेश यादवको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिनु भयो ।
उहाँका अनुसार मृत्युको खबर प्राप्त भए पनि घटनाबारे थप विवरण आउन बाँकी छ। स्थिति तनावपूर्ण रहेकाले प्रभावित क्षेत्रमा बाक्लो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ। सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेशसमेत जारी गरिएको छ।
यता सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा प्रहरीको गोली लागेर घाइते भएका २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको छ।
यसअघि आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो। जयप्रकाशको निधनसँगै देवानगञ्ज घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।
देवानगञ्ज घटनामा गोली लागेर आठ जना प्रदर्शनकारी घाइते भएका थिए भने झडपका क्रममा आठ जना प्रहरीसमेत घाइते भएका थिए।
देवानगञ्ज घटनापछि तराईका विभिन्न जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ। सिरहा, धनुषालगायतका संवेदनशील क्षेत्रमा कर्फ्यू लागू गरिएको छ भने सुरक्षा निकायले अवस्था नियन्त्रणमा लिन उच्च सतर्कता अपनाएको जनाएको छ।



















